भारतको मेडिकल कलेजमा आगलागी हुँदा १० बालबालिकाको मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात गहन चिकित्सा एकाइ (एनआईसियू) मा शुक्रवार राति भीषण आगलागी हुँदा कम्तीमा १० जना बालबालिकाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आगलागीमा परेर अन्य १६ बालबालिका गम्भिर घाइते भएका छन् । यो दुर्घटना शर्ट सर्किटका कारण भएको अनुमान गरिएको छ ।
आगलागीका कारण अस्पतालमा भागदौड मच्चिएको थियो । विरामीका कुरुवा तथा बिरामीहरु ज्यान जोगाउन दौडिएका थिए, जसका कारण भागदौडको स्थिति बनेको थियो । फायर ब्रिगेडको टीम समयमै पुगेर ३७ जना बालबालिकालाई सुरक्षित रुपमा बाहिर निकालेका थिए । दुर्घटनाको समय एनआईसियूमा कुल ५४ बालबालिका भर्ना भएको थिए ।
झाँसीका जिल्ला अधिकारी अविनाश कुमारका अनुसार आगलागीको कारण शर्ट सर्किट हुनसक्ने छ । उनले घटनाको विस्तृत अनुसन्धान गर्न आदेश दिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई हृदय विदारक भन्दै घाइतहरुलाई सर्वोत्तम सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।