एमालेको जनजागरण सभा मङ्सिर ७ मा
काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर ७ गते भृकुटीमण्डपमा जनजागरण सभाको आयोजना गर्ने भएको छ । बागमती प्रदेश इन्चार्ज एवम् जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले मङ्सिर ७ गते एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरु मुख्य आयोजक, विभिन्न जनसङ्गठन, पेसागत सङ्गठन, सम्पर्क समन्वय समिटी र विभागहरुको सहभागितामा भृकुटीमण्डपमा जनजागरण सभाको आयोजना गर्न लागेको जानकारी दिए ।
कालान्तरमा व्यवस्थाविरुद्ध धावा बोल्ने दुश्प्रयत्न भइरहेको वर्तमान सन्दर्भमा जनताका बिचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न सभा गर्न जरुरी भएको उनको भनाइ छ । इन्चार्ज भट्टराई शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल राष्ट्रको पुनर्निर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्दछ भन्ने तथ्य स्थापित नै छ ।’’ यतिबेला नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रतिनिधि संस्था मात्र होइन, प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘‘यसलाई प्रमुख निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न हाम्रो पार्टीको सिङ्गो पंक्ति लागिरहेको तथ्य जगजाहेर नै छ । जनबल र जनसमर्थनका आधारमा राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवम् समाजवादउन्मुख नेपाल राष्ट्रको निर्माणको उद्देश्य पुरा गर्न हाम्रो पार्टी दृढ सङ्कल्पित छ’’, इन्चार्ज भट्टराईले विज्ञप्तिमार्फत् भनेका छन् ।
मङ्सिर ७ नै किन ?
राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न ।
गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न ।
वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न ।
सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न ।