भारत हुँदै नेपाल-बंगलादेश विद्युत् निर्यात सुरु
काठमाडौं । नेपालमा उत्पादित बिजुली भारतपछि आजदेखि बंगलादेशतर्फ निर्यात सुरु भएको छ। क्षेत्रीय विद्युत् व्यापारमा यो अर्को ऐतिहासिक परिघटना हो।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुलकबीर खानले भर्चुअल प्रविधिमार्फत संयुक्त रुपमा स्वीच थिचेर विद्युत् निर्यातको शुभारम्भ गरे। नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको छ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ। त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ। नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात आज मध्यान्ह १२ः३० बजेदेखि सुरु भएको हो। यसवर्ष (सन् २०२४) को वर्षायाममा विद्युत् निर्यात आजराति १२ बजेसम्म मात्र हुनेछ। त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ देखि बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ।