प्रेस काउन्सिलको निगरानीमा सामाजिक सञ्जाल
काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो ।
मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाइ कार्यान्वयन गरिरहेको उल्लेख छ । सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल युट्युब च्यानल एवम् फेसबुक पेजबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट र अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया