भक्तपुर नगरपालिकाको आयोजनामा पाँच दिने ‘भक्तपुर महोत्सव’ हुने

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा पाँच दिने ‘भक्तपुर महोत्सव’ हुने भएको छ । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने ‘महोत्सव’ हुन लागेको हो ।

नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवं नगर प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पुर्‍याउने महोत्सवको प्रमुख उद्देश्य रहेको जानकारी दिए ।

भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना गरिन लागेको उनले स्पष्ट पारे ।

महोत्सवमा साँस्कृतिक कार्यक्रम, साँस्कृतिक प्रदर्शनहरु, व्यापारिक प्रदर्शनी, मनोरञ्जनका गतिविधि हुने नगरप्रमुख प्रजापतिले बताए । आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु महोत्सवको अर्को उद्देश्य हो भन्दै उनले भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरि व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने नीति पनि रहेको बताए ।

भक्तपुर महोत्सव अतिथि सत्कार समिति संयोजक एवम् नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताइन् ।

वि.सं. २०५४ सालको ‘भक्तपुर महोत्सव’ पछिको भव्य महोत्सवको रुपमा भक्तपुर महोत्सव वि.सं. २०८१ सञ्चालन हुने बताउँदै उनले सिंगो नगरलाई उत्सवमय बनाउन विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुबाट आवश्यक प्रचारप्रसारमार्फत विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गरेका थिए । उनले वि.सं. २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्य रुपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै महोत्सवको लोगो र स्टिकर नेपाल भाषा, नेपाली भाषा र अंग्रेजी गरी तीन वटा भाषा प्रकाशन भएको जानकारी गराए । उनले आजबाट विधिवत रुपमा भक्तपुर महोत्सव सचिवालयको काम थालनी भएको बताए ।

महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख प्रजापतिको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको छ । यस्तै, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र एक सचिवालय समितिहरु गठन गरिएको छ ।

महोत्सवका मुख्य आकर्षणहरुमा बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा, वादन, परम्परागत र आधुनिक साँस्कृतिक नाँच रहेको छ । यस्तै, पौभा, तस्विर, चित्रकला, छ्वालीकला, परम्परागत धागो रंग्याउने, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, कुमारी (जीवित देवी) दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक बुद्ध अस्तु, खेलकूद, परम्परागत तोरीको तेल उत्पादन विधि, साँस्कृतिक जात्रा पर्वको नमुना पनि महोत्सवको आकर्षण रहेको छ ।

यसैगरी, महोत्सवमा खाना महोत्सव, व्यापार मेला, दही महोत्सव का साथै नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि हुनेछ ।

महोत्सवका लागि नगरपालिकाले रु. १ करोड ५० लाख रुपैयाँको बजेट व्यवस्थापन गरेको छ । महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवमा ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुनेछ ।

नगरपालिकाले समय समयमा ठूला साना महोत्सवहरुको आयोजना गर्दै आएको छ । वि.सं. २०५४ साल कार्तिक ६–१० गतेसम्म ‘भक्तपुर महोत्सव’, र वि.सं. २०६९ साल असोज ६ गते एक दिने ‘भक्तपुर सडक महोत्सव’, वि.सं. २०७६ पुस १६ गते ‘सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन प्रदर्शन’, वि.सं. २०७९ चैत्र १८-१९ गते ‘सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला’, वि.सं. २०८० श्रावण २० गते ‘भक्तपुरका पोखरीहरुको पदयात्रा मेला’ र वि.सं. २०८० पौष १४ गते ‘बहाबही पदयात्राका साथ योमरी उत्सव’ सम्पन्न गरेको थियो ।

यसैगरी, भक्तपुर नगरपालिकाकै आयोजनामा २०५६ सालमा युनेस्को कल्चर हेरिटेज म्यानेजमेन्ट एण्ड टुरिजम विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर