ह्यारिसले हार स्वीकार गर्दै भनिन्, ‘चुनावको नतिजा हामीले चाहेको अनुसार भएन’
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा पराजयपछि कमला ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरेकी छन्। हारपछिको पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न अपिल गरेकी छन्। यससँगै उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ भनेकी छन्।
वाशिंगटन, डिसीको हावर्ड विश्वविद्यालयमा एक भाषणमा, ह्यारिसले हार स्वीकार गर्दै भनिन्, ‘चुनावको नतिजा हामीले चाहेको अनुसार भएन।’
ह्यारिसले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताएकी छन्।
आफ्ना समर्थकहरूलाई निराश नहुन भन्दै ह्यारिसले आफ्ना उपराष्ट्रपतिका उम्मेदवार गभर्नर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, मतदान कार्यकर्ता र निर्वाचन अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन्। उनको सम्बोधनका क्रममा उनका समर्थक भावविव्हल बनेका थिए भने धेरैले आँसु पुछेको देखिएको थियो।
ह्यारिसले आफ्नो सम्बोधनमा भनिन्- ‘मलाई थाहा छ मानिसहरू अझै पनि धेरै भावनाहरूबाट गुज्रिरहेका छन्। म बुझ्छु, तर हामीले यो चुनावको नतिजालाई सम्मान गर्नुपर्छ ।’ ह्यारिसले चुनावमा पराजय भोग्नु परे पनि आफूले उठाएका मुद्दामा संघर्ष जारी राख्ने बताइन्।