नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई विश्वभरका नेताहरूको बधाईको ओइरो
काठमाडौं । अमेरिकाको राष्ट्रपति पदमा आफ्नो विजयको घोषणा गरेपछि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा इलोन मस्कको नाम पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जाल साइट एक्सका मालिक मस्कले ट्रम्पको चुनावी अभियानमा ठूलो भूमिका खेलेका थिए । ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ स्टार’ भनेका छन् ।
दोस्रोपल्ट अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुन लागेका डोनाल्ड ट्रम्पलाई विश्वका नेताहरूले बधाई दिन थालेका छन्। अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार एवम् पूर्वराष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार एवम् उपराष्ट्रपति कमला ह्यारिसमाथि जितको दाबी गरेपछि विश्वका नेताहरूले उनलाई बधाई दिन थालेका हुन्। मत गणनामा निकै जित नजिक पुगेपछि ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै आफू निर्वाचित भएको दाबी गरेका छन्।
ऐतिहासिक चुनावी जितेको मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत बधाई दिएका छन्। मोदीले एक्समा लेखेका छन्, ‘ऐतिहासिक चुनावी जितेको मेरा मित्र डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई।’
मोदीले ट्रम्पको अघिल्लो कार्यकालमा जस्तै आफू भारत-अमेरिका बीचको व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई सुदृढ गर्न र सहयोग अगाडि बढाउन उत्साहित रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘सँगै मिलेर हाम्रा जनताको कल्याण, वैश्विक शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौँ।’
इजरायल-अमेरिकाबीचको महान गठबन्धनको शक्तिशाली प्रतिबद्धता : नेतन्याहु
युक्रेनका राष्ट्रपति भ्लादिमिमिर जलेन्स्कीले ट्रम्पको जितले युक्रेनमा व्यावहारिक रूपमा शान्ति कायम हुने आशा व्यक्त गरेका छन्। उनले एक्समा ट्रम्पको सराहना गर्दै लेखेका छन्, ‘म ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिमार्फत शान्ति’ दृष्टिकोणको प्रतिबद्धता कदर गर्दछु। यो ठिक त्यही सिद्धान्त हो जसले व्यावहारिक रूपमा युक्रेनमा न्यायपूर्ण शान्ति ल्याउन नजिक पुर्याउन सक्छ।’
हामीसँगै काम गर्न तयार छौँ : म्याक्रोन
फ्रान्सका राष्ट्रपति इम्यान्युएल म्याक्रोनले एक्समा लेखेका छन्, ‘बधाई हो, राष्ट्रपति डोनाल्ड ट्रम्प।’ उनले अघिल्लो चार वर्षको अवधिमा मिलेर काम गरेको स्मरण गरेका छन्। म्याक्रोनले लेखेका छन्, ‘हामीले जस्तो साथ मिलेर काम गरेका थियौँ, त्यसैगरी अब हामी सँगै काम गर्न तयार छौँ।’
ऐतिहासिक चुनावी जितको बधाई : स्टार्मर
बेलायती प्रधानमन्त्री किर स्टार्मरले डोनाल्ड ट्रम्पलाई उनको ऐतिहासिक चुनावी जितको बधाई दिँदै भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई तपाईंको ऐतिहासिक चुनावी जितको बधाई। म आगामी वर्षहरूमा तपाईँसँग काम गर्नको लागि उत्साहित छु।’ उनले अमेरिका र बेलायत सबैभन्दा नजिकका मित्रराष्ट्रका रूपमा स्वतन्त्रता, लोकतन्त्र र उद्यमका साझा मूल्यहरूको रक्षाका लागि एकै ठाउँमा उभिएको पनि उल्लेख गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ट्रम्पलाई दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा बधाई दिएका छन्। उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालका लागि ऐतिहासिक जितको बधाई! म आगामी प्रशासनसँग मिलेर पाकिस्तान-अमेरिका साझेदारीलाई अझ बलियो र विस्तारित गर्नका लागि नजिकबाट काम गर्न उत्साहित छु।’
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सीसीले ट्रम्पलाई अमेरिकी जनाताको अधिकार पूरा गर्ने काममा सफलता मिलोस् भनी शुभकामना दिएका छन्। साथै उनले शान्ति स्थापना र क्षेत्रीय स्थिरता कायम राख्न तथा इजिप्ट र अमेरिका बीचको रणनीतिक सम्बन्धलाई बलियो बनाउन सँगै काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिजले ट्रम्पलाई बधाई दिँदै दुई राष्ट्रबीचको क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, ‘अमेरिकाका राष्ट्रपति चयन संसार, हाम्रो क्षेत्र र अस्ट्रलियाका लागि महत्त्वपूर्ण क्षण हो।’ उनले अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रको स्थिरता र सुरक्षामा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गरेका छन्।
डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो जितको घोषणा गरे पनि यसका बारेमा औपचारिक घोषणा भने भएको छैन। ट्रम्पले २६७ इलेक्टोरल कलेज र कमला ह्यारिसले २२४ इलेक्टोरल कलेज जित्ने देखिएका छन्।