सुन र पैसाका लागि आफ्नै आमाको हत्या !

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आमाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले मङ्गलबार पत्रकार सम्मेलन गर्दै आफ्नै आमाको हत्या गरेको आरोपमा जिल्लाको रोसी गाउँपालिका–३ का २८ वर्षका फुर्साङ लामालाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले फुर्साङले कात्तिक १६ गते सुन र नगदका लागि ६९ वर्षीया आमा माइली लामाको हत्या गरेको बताए । उनले घटनाको अनुसन्धानको क्रममा फुर्साङले आमाले लगाएको सुन र पैसा लिनका लागि लोहोरो, झ्याल र ढोकाको आग्लोले हानेर हत्या गरेको खुल्न आएको बताए ।
आमाको हत्या गरेर फरार रहेका फुर्साङलाई कात्तिक १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘आफूसँग भएको चौध सय रुपैयाँबाट काठमाडौंको कोठाको भाडा तिर्न नपुग्ने र आफूलाई चाहिने खर्च नटर्ने भएपछि खाना खाएर सुतेकी आमालाई लोहोरोले दुई पटक त्यसपछि झ्यालको आग्लोले हानेको र झ्यालको आग्लो भाँचिएपछि ढोकाको आग्लोले हानेर हत्या गरेको पाइएको छ’, प्रहरी उपरीक्षक खड्काले भने ।

उनले आमाको हत्या आरोपमा पक्राउ परेका फुर्साङको साथबाट नगद नौ हजार नौ सय रुपैयाँ र २०६९ सालमा आमाको कानमा लगाएको रिङको बिल फेला पारेको बताए । प्रहरी उपरीक्षक खड्काले घटनाको अनुसन्धान गर्ने क्रममा फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपैयाँ फेला पारेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर