त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शुक्रबार कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।
विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिएका छन् ।
महानिर्देशक अधिकारीले सो कामको योजना करिब ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो ।
उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ ।