यस वर्ष अलैँचीको मूल्य बढ्यो
काठमाडौं । यस वर्ष रामेछाप जिल्लामा उत्पादित अलैँचीको मूल्य बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको हो ।
यस वर्ष अलैँचीको मूल्य बढेर प्रति किलो १ हजार ८ सय रुपैयाँ पुगेको किसानहरूले बताएका छन् । अघिल्लो वर्ष यो सिजनमा अलैँचीको मूल्य किसानहरूले प्रति किलो १ हजार २ सय मात्र लिएका थिए । जिल्लाको चुचुरे, बाम्ती, कुभुकास्थली, प्रिती र गुम्देल गाउँमा लगाइएको अलैँचीले यस वर्ष राम्रो मूल्य पाएपछि किसानहरू खुसी भएका छन् । यहाँका किसानहरूले एघार वर्ष अगाडिबाट अलैँचीको खेती सुरु गरेको भए पनि पाँच वर्ष अगाडिबाट मात्र ठुलो मात्रामा उत्पादन सुरु गरेका थिए ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य राम्रो पाइएको उमाकुन्ड गाउँपालिका वडा नं ३ कुभुकास्थलीका अलैँची कृषक पवित्र कुमार सुनुवारले बताउनु भयो । केही वर्ष अगाडि सम्म बजार अभावका कारण उत्पादन भएको अलैँची पनि खेर गएको बताउने किसानहरू यस बर्षभने अलैँचीबाट राम्रो आम्दानी गर्न सफल भएको बताउँछन् । आफूले लगाएको ४० रोपनी क्षेत्रको अलैँचीले यस वर्ष राम्रो मूल्य पाएका कारण आफूहरू खुसी भएको सुनुवार बताउनु हुन्छ । उहाँले आफूले मात्र अहिले करिब ६ लाख रुपैयाँको अलैँची बिक्री गर्न लागेको बताउनु भयो । यस वर्ष खडेरीका कारण उत्पादन घटेको भए पनि बजारमा मूल्य भने राम्रो पाइएकाले किसानहरू खुसी भएको अलैँची किसानहरू बताउँछन् । खडेरीले आकासे पानीको भरमा खेती गर्ने किसानहरू मारमा परेको भए पनि सिँचाइ सुविधा भएको स्थानका किसानहरूले यो वर्ष अलैँचीबाट राम्रो आम्दानी लिन सफल भएका छन् ।
अन्य बाली उत्पादन नहुने जङ्गल तथा भिर पाखामा पनि चिस्यान भएको स्थानमा राम्रो उत्पादन हुने अलैँची ख्यातिबाट आम्दानी पनि राम्रो हुने र खेती गर्न पनि सजिलो हुने भएकाले किसानहर यसतर्फ आकर्षित भएर व्यबसायीक खेती गर्न थालेका छन् । १२ सय देखी २२ सय मिटरसम्ममा हुने अलैँची रामेछापको उत्तरी क्षेत्रको ५ हजार रोपनी भन्दा बढी क्षेत्रफलमा व्यबसायीक खेती सुरु गरिएको छ । रामेछाप जिल्लामा असोज महिना देखी कात्तिक महिना भित्रमा अलैँची टिप्ने गरिन्छ । अहिले यहाँका किसानहरू धमाधम अलैँची टिप्न थालेका छन् ।