हङकङ सिक्सेस: इङ्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । हङकङमा जारी २०औं हङकङ सिक्सेसमा तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि ६ विकेटको जित निकालेको हो ।

नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।

इङ्ग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य ४ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । नेपालको जितमा कप्तान सन्दीप जोराले १३ बलमा ४ चौका ५ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । कप्तान रवि बोपाराले १२ बलमा ४९ रन बनाए । उनले एक चौका र सात छक्का प्रहार गरे । यस्तै समित पटेलले १७ बलमा ३९ रन बनाए । उनले भने तीन तीन चौका र छक्का प्रहार गरे ।

नेपाली बलर विवेक यादव र प्रतिश जीसीले दुई-दुई विकेट हात पारे । यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक-एक विकेट रह्यो ।

प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर