काठमाडौंमा सिस्नेरीबाट पानी ल्याएर समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता

काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले काठमाडौंमा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि दृष्टिगत गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताए । मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेन्डरका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गर्दै काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको उनले दाबी गरे । उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताए । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताए ।

उनले भने, “काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानीको डिमान्ड छ । त्यो पुर्‍याउने कसरी ? सरकारको दीर्घकालीन समस्याको योजना के छ ? त्यसको लागि खानेपानी मन्त्रालय अघि बढिसकेको छ । हामी तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेन्डर हुन गइरहेको छ । त्यो यही १५ दिनभित्र जतिमा हुन्छ । त्यो २५ करोड ५० लाख लिटर मेलम्चीको पानी आयो भने समस्या केही समाधान हुन्छ । अहिले १७ करोड लिटर रहेको छ । पानी केही त हामीले अहिले बागमतीमा डाइभर्ट गरेका छौँ । केही पाइपको समस्याका कारण बागमती सफाइ गरिरहेका छौँ ।”

चार महिना पानी नआउँदा खानेपानी मन्त्रालय के गर्छ ? ५१ करोड लिटरको पानीको माग छ । ट्याङ्करवाला भाइलाई मजा भइहाल्छ । हामीले शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा २५ करोड जति खर्च गर्ने हो भने केही हल हुन्छ नै । अहिले ६ दिनमा पानी दिइरहेका थियौँ । कतै त १५ दिनमा पानी दिने गरेको रहेछ । १५ दिनमा पानी दिँदा कसरी नागरिक बाँच्छ । नागरिकप्रति राज्यको दायित्व यही हो ? मन्त्री यादवलले आफूले आफैंसँग प्रश्न गरे ।

उनको टिप्पणी थियो, “सानो मुहानबाट पनि पानी ल्याउने सोचमा छौँ । ट्याङ्करमा पानी हाल्न इआइए नचाहिने, सरकारलाई नागरिकका लागि पानी दिन इआइए चाहिने । मन्त्री अलि छिटो छिटो चेन्ज हुने । मन्त्री आज त्यो, भोलि त्यो । मान्छेको दिमागमा मन्त्रीको नाम नै भुलिसकेछन् । तर यो सरकार मजबुत सरकार भएकाले काम सफल हुनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर