धार्के-सीतापाइला सडकको स्तरोन्नति र कालोपत्रे गरिँदै
काठमाडौं । धादिङको धार्केदेखि काठमाडौंको सीतापाइलासम्म जोड्ने वैकल्पिक सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम सुरु भएको छ । २०५१ सालमा ट्र्याक खोलिएको राजधानी प्रवेश गर्ने मुख्य जीवनरेखा त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको वैकल्पिक सडकको रूपमा खेलिएको उक्त सडकमा कालोपत्रे सम्पन्न भएपछि राजधानी काठमाडौंसम्म आवत जावतमा निकै सहज हुनेछ भने राजधानी प्रवेशका लागि त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग निर्माणका क्रममा हुने सवारी जामसमेत केही कमी हुने विश्वास गरिएको छ ।
सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम २०७९ साल असारबाट सुरु गरेको थियो कालोपत्रे गर्ने म्याद गत आर्थिक वर्षमा नै सकिएपछि पुनः म्याद थपी काम सुरु गरेको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म सबै सडक कालेपत्रे गरी सवारी सुचारु हुने धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए । सडक स्तरोन्नति भएसँगै तराईका विभिन्न जिल्लाहरूबाट राजधानी प्रवेश गर्ने सवारीसाधनका लागि सो सडक त्रिभुवन राजपथको तुलनामा निकै छोटो पर्नेछ ।
धादिङको जीवनपुर, छत्रे देउरालीलगायतका स्थानहरूमा उत्पादित कृषि उपजहरू बजारसम्म ल्याउन सजिलो हुनुका साथै त्यस क्षेत्रका स्थानीयको आर्थिक उन्नतिमा समेत टेवा पुग्ने विश्वास रहेको छ । सो सडक दुई खण्डमा विभाजन गरी अहिले ४६ करोडको लागतमा सडक विभागले भीमेश्वर निर्माण सेवा र गोर्खा एप्रोपिरेड नामक निर्माण कम्पनीलाई जिम्मा दिएको छ ।