वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने सरकारको दाबी

काठमाडौं ।  खानेपानी मन्त्री प्रदीप यादवले वर्षा याममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताएका छन् ।

सो पानीको मुहानमा नयाँ हेडवर्क्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षायाममा मेलम्ची खानेपानी काठमाडौँ नआउने अवस्था अन्त्य गर्ने कामको सुरुवात गरेको मन्त्री यादवले बताए । सिंहदरबारमा मङ्गलवार अपराह्न आफूले सम्पादन गरेका सय दिनको मुख्य मुख्य कार्यहरू सार्वजनिक गर्नेक्रममा उनले सो पानी वर्षातमा पनि वितरण हुने गरी नयाँ हेडवर्क्स निर्माण कार्य सुरु गरिएको बताए । मन्त्री यादवले आफूले गत वर्ष माघ मात्रै ल्याउन सफल भएको मेलम्चीको पानी यस वर्ष दसैँ अगावै ल्याउने काममा सफलता हात पारेको दाबीसमेत गरे । मन्त्री यादवले मन्त्रालयले सुन्दरी जलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणको काम पनि अघि बढाएको बताए ।

उनले भने ,‘मेलम्चीका जनतालाई विश्वास दिलाएर, त्यहाँका जनप्रतिनिधिलाई विश्वास दिलाएर हामीले मेलम्चीको पानी काठमाडौँमा ल्याएका छौँ । त्यो पनि समय भित्र ल्याएका छौँ । गत वर्ष माघ १ गते पानी आएको हो नि काठमाडौँमा । हामीले भनेका थियौँ । मैले पार्लियामेन्ट पनि बोलेको थिएँ–असोजमा पानी ल्याउँछु भनेर । तर पत्याउने सङ्ख्या न्यून थियो । पानी ल्याउँछ कि ल्याउँदैन भन्ने विश्वास नै थिएन । हावा बोलेको हो कि पनि भन्थे । प्रतिक्रियाहरू त्यस्तै थियो । तर हामीले हावामा बोलेको थिएनौ । मैले प्रमाणित गरेर देखाए कि खानेपानी मन्त्रालय जे बोल्छ, त्यो गर्छ । मेलम्ची खानेपानी आयोजना सुचारु गरी काठमाडौँमा उपत्यकामा खानेपानीको सहज प्रवाह गर्नु मन्त्रालयको लागि चुनौती थियो । यस चुनौतीलाई सामना गरी यस वर्षको दसैँभन्दा अगावै २०८१ साल असोज २२ गतेदेखि आयोजना सञ्चालन गरी काठमाडौँ उपत्यकामा स्वच्छ पानी वितरण गर्न मन्त्रालय सफल भएको छ । यसबाट काठमाडौँ उपत्यकाका करिब २० लाख जनसख्या स्वच्छ खानेपानीको सुविधाबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । अर्कोतर्फ २०७८ सालको अप्रत्याशित विनाशकारी बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानीको मुहान रहेको अम्बाथानको हेडवक्स पूर्णरुपमा क्षति भएको हुनाले मनसुनको समयमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण बन्द गर्नुपर्ने तितो यथार्थ हामीसामु छ । यस परिप्रेक्ष्यमा विपद्बाट सुरक्षित स्थानमा नयाँ हेडवर्क्स बनाई बाह्रै महिना पानी वितरण गर्नुपर्ने हाम्रो जिम्मेवारी रहेको छ । विभिन्न प्राविधिक अध्ययनले समेत साबिकको हेडवर्क्स प्रयोगमा ल्याउन नसकिने देखाएको छ । यस कुरालाई मध्यनजर गरी मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स निर्माण र सुन्दरी जलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणका लागि मेलम्ची खानेपानी विकास समितिबाट प्रारम्भिक कार्य सुरुवात भइसकेको छ ।’

मन्त्री यादवले स्रोत, साधन र जनशक्तिको अभावमा खानेपानी व्यवस्थापनको काम चुस्त हुन नसकेको तथ्य स्मरण गराउँदै आम नागरिकलाई स्वच्छ पानी खुवाउने काममा सरकार प्रतिबद्ध भएर लागि परेको बताए । उनले विपद्ले अवरुद्ध पारेका खानेपानी सुचारु गराउने काममा पनि आफू लागि परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर