चौथो राष्ट्रिय केन्पो मार्शल आर्ट्स प्रतियोगिता सम्पन्न

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीमा चौथो राष्ट्रिय केन्पो मार्शल आर्ट्स प्रतियोगिता सम्पन्न भएको छ । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले आयोजना गरेको प्रतियोगितामा विभिन्न उमेर र तौल तथा महिला पुरुष फरक समुहमा गरी विभिन्न ४ विधामा प्रतिस्पर्धा भएको थियो ।

कात्तिक २ र ३ गते सुदुरपश्चिम प्रदेशको घोडाघोडी नगरपालिकाको सुखड, कैलालीमा भएको प्रतियोगितामा सुदुरपश्चिम प्रदेश प्रथम, कर्णाली प्रदेश दोश्रो र लुम्बिनी प्रदेश तेस्रो भएका थिए । प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित कप मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

विजयी खेलाडीहरुलाई घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले ट्रफी, मेडल तथा प्रमाणपत्रका साथै नगद पुरस्कार वितरण गरेका थिए । प्रथम हुनेलाई नगद रु. २५ हजार, द्वितीय हुने टिमलाई रु. १५ हजार र तृतीय हुने टिमलाई रु. १० हजार नगद पुरस्कार दिइएको थियो ।

प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको थियो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा फूल केन्पो, सेमी केन्पो, सेल्फ डिफेन्स केन्पो र खुकुरी काता अन्तर्गतका विभिन्न प्रतिस्पर्धा भएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख रावतले केन्पो मार्शल खेलको समेत नेपालमा सम्भावनाको खेल रहेको उल्लेख गर्दै खेलकुदले भाइचारा सम्बन्ध स्थापितसँगै अनुशासन कायम गर्न समेत खेलकुदको भूमिका उत्तिकै प्रभावकारी रहेको बताए ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा. पूर्णप्रसाद पाण्डेले खेलप्रति सर्वसाधारणको रुचि अभिवृद्धि गर्ने र यसको समुचित विकासमा जोड दिने र खेलको स्तर वृद्धि गर्न विभिन्न स्तर र तहका प्रतियोगिताहरु संचालन गर्दै आएको जानकारी दिए ।

बरिष्ठ उपाध्यक्ष कुमार कार्कीलगायतले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको बताए । उपाध्यक्ष लक्ष्मी अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मदन रेग्मीले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर