ऋषिकेश र धनराजमाथि कारवाही खोई ? : वर्षमान

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ कांग्रेस नेता धनराज गुरुङ्ग र एमाले नेता ऋषिकेश पोखरेललाई छुट दिन नमिल्ने बताएका छन् ।

माओवादी नेता पुनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति पोखरेललाई पनि पक्राउ गर्न माग गरे । प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताए ।
पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिँदै राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने बताए ।
‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ , धनराजलाई पनि त्यही होस् । प्रधानमन्त्रको पार्टीका सांसद् पोेखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’ पुनले रास्वपा सभापति लामिछानेलाई अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर