सूर्यविनायक–धुलिखेल सडकखण्डको काम समयमै सक्न मुस्किल

काठमाडौं । सूर्यविनायक–धुलिखेल सडकखण्डको काम समयमै सकिने सम्भावना क्षीण बन्दै गएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १५.५ किलोमिटर सडक ६ लेन विस्तार गर्ने काम सुस्ताएपछि काम समयमै सकिने सम्भावना कम देखिएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि लक्ष्यअनुसार काम हुन सकेको छैन । सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा २६ प्रतिशत मात्रै प्रगति भएको छ ।

विसं २०७९ पुस २४ गते दुई खण्डमा बाँडेर तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सडक आयोजनाका प्रवक्ता इन्जिनियर सजना अधिकारीले आयोजनाको भौतिक प्रगति २६ प्रतिशत र वित्तीय प्रगति ३२ प्रतिशत रहेको जानकारी दिए । आयोजनाले हालसम्म निर्माण कम्पनीलाई दुई अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५.५ किमी सडक निर्माणको चरणमा भए पनि भौतिक प्रगति कम हुँदा समयमै काम सम्पन्न हुने सम्भावना कम देखिएको स्थानीयले गुनासो गरेका छन् ।

आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक आयोजना समयमै सम्पन्न गर्न अधिकतम प्रयास गरिने बताए । दुई लेनबाट ६ लेन बनाउन विस्तार कार्य भइरहेको अरनिको राजमार्गको यस सडकखण्डमा दायाँबायाँ दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण हुने आयोजनाले जनाएको छ । प्रवक्ता अधिकारीले सुरुको ठेक्का अवधिमा काम सम्पन्न गर्न कठिन भए पनि समयमै सम्पन्न गर्न प्रयास गर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर