धौलागिरि हिमाल चढ्ने क्रममा पाँचजना पर्वतारोहीको मृत्यु

काठमाडौं । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मङ्गलबार मृत भेटिएका छन् । धौलागिरि हिमालको हाई क्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसियाका आरोहीहरूको शव मङ्गलबार सात हजार एक सय मिटरको उचाइमा भेटिएको हो ।

रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले पुष्टि गरे । उनका अनुसार हाई क्यापमा बास बसेर त्यहाँदेखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका पर्वतारोहीहरूको हेलिकप्टरमार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन् ।

घटनास्थलबाट हेलिकप्टरमार्फत शव ल्याउने तयारी भएको डिएसपी श्रेष्ठले बताए । हराएका पर्यटक खोज्न हेली एभरेस्टको हेलिकप्टर परिचालन गरिएको थियो । उनीहरू आइ एम टे«किङ एण्ड एक्सपीडिसनमार्फत धौलागिरि हिमाल आरोहणका लागि आएका थिए । धौलागिरि हिमाल आरोहणका क्रममा सात हजार ६ सय मिटर उचाइमा उनीहरू दुर्घटनामा परेको अनुमान गरिएको छ । आरोही समूहका एक जना भालेरी शामालोलाई फस्र्ट क्याम्पबाट उद्धार गरी काठमाडौं ल्याइएको छ ।

चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए । संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । चालु शरद याममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर