केही दिनभित्र मनसुन बाहिरिने, दशैंमा घाम लाग्ने अनुमान

काठमाडौं । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रूपमा र लुम्बिनी प्रदेशबाट आंशिक रूपमा मनसुन बाहिरिसकेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु सर्दै नेपालको पूर्वी भेगबाट मनसुन सम्पूर्ण रूपमा बाहिरिने जनाइएको छ । दसैँ आसपास पहाडी भेगमा हल्का बदली देखिए पनि ठुलो वर्षा नहुने जानकारी उनले बताइन् । उनका अनुसार मनसुनी वायु कमजोर हुँदैजाँदा पश्चिमी वायुको प्रभाव भने बलियो बन्दै गएको छ । जसका कारण मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्का वर्षा हुने सम्भावना असोज महिनाभर कायम रहने मानन्धरले बताइन् । भारी वर्षाको क्रम भने मनसुन बाहिरिने प्रक्रिया सुरु भएसँगै यो वर्षका लागि टुङ्गिएको छ ।

पश्चिमी वायुको वेग बढेकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने महाशाखाले जनाएको छ । अबका दिनमा तापक्रम घट्दै जाँदा घाम न्यानो लाग्ने दिनको बढोत्तरी हुने मानन्धरले बताइन् । मनसुन बाहिरिने क्रम जारी रहे पनि गत साताको कडा वर्षाले कमजोर बनाएका भूभागमा सुक्खा पहिरो जाने सम्भावना कायम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै जलवायु परिवर्तनको प्रभावले बेमौसमी र अकस्मात् सिर्जना हुने मौसम प्रणालीले वर्षा निम्त्याउन सक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

तीन महिना अवधिको हावापानी आँकलन सार्वजनिक

यसैबीच जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आँकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आँकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

वर्षाको आँकलन

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ । त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।

अधिकतम तथा न्यूनतम तापक्रम

यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर