बिपी राजमार्गमा अलपत्र परेका गाडी वैकल्पिक बाटोबाट गन्तव्यतर्फ

काठमाडौं ।  गत साताको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर बिपी राजमार्गमा करिब ७ सय सवारीसाधन अलपत्र अवस्थामा परेकामध्ये केही सवारीलाई उद्धार गरी काठमाडौं पठाइएको छ ।

उद्धार गरिएका सवारीलाई बि.पी राजमार्ग अन्तर्गत  वैकल्पिक राजमार्ग हुदैं काठमाडौँ पठाइएको हो । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका  वडा नं. ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुण्डे, धुलिखेल हुदैं काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिइन् ।

राजमार्ग फसेका सवारीसाधन र साधनका चालकले खोला किनारमा करिब १० दिन कष्टकर जीवन गुजारेको काठमाडौँ आउँदै गरेका चालकहरूले बताए । वैकल्पिक  बाटो पनि निकै कठिनका साथ आउनुपरेको उनीहरूले सुनाए ।

एक साता अघिदेखि राजमार्गमा फसेका ७ सय सवारीहरुमध्ये ३६ वटा सवारीसाधनलाई वैकल्पिक मार्गबाट ल्याएको काभ्रे प्रहरी प्रमुख  खड्काले बताइन् । उनका अनुसार, अझै ४-५ ठाउँमा ह्युम पाइप हालेर बाटो खुलाउन बाकी रहेको छ । अहिले ह्युम पाइप राख्ने काम भइरहेको छ । अहिले १० दिनदेखि फसेका सवारीलाई प्राथमिकतामा राखेर उद्धार गरी राजमार्गअन्तर्गत वैकल्पिक बाटो हुदैं काठमाडौँसम्म पठाइएको खड्काले जानकारी दिइन् । राजमार्ग खुलाउनको लागि स्थानीय, प्रशासन, प्रहरी सबै प्रयासरत रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर