अवरुद्ध काठमाडौं जोड्ने सडक विस्तारै खुल्दै, बिपी राजमार्गको विकल्प रामेछापको सित्खा पुल

काठमाडौं । भीषण वर्षाका कारण सङ्घीय राजधानी काठमाडौं जोड्ने अवरुद्ध भएका राजमार्ग तथा सडक सञ्चालनमा आउन थालेका छन् । राजधानीको जीवन रेखा (लाइफ लाइन) का रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ सञ्चालनमा आएका छन् ।

अहिलेसम्म सञ्चालनमा आउन नसकेका राजमार्ग तथा सडकको विकल्पमा विभिन्न सडक प्रयोग गरी सवारीसाधन सञ्चालनमा ल्याउने प्रयास गरिएको छ । गत साता गएको बाढीले सबभन्दा बढी क्षतिग्रस्त भएको काठमाडौंलाई मुलुकको पूर्वी क्षेत्रसँग जोड्ने बिपी राजमार्गको सबभन्दा ठुलो विकल्प काठमाडौं–हेटौँडा जोड्ने सडक बनेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले अहिले काठमाडौंबाट चन्द्रागिरि–चित्लाङ–पालुङ–भैँसे हुँदै हेटौँडा पुग्न सकिने सडक सञ्चालनमा आइसकेको जानकारी दिए । त्यसैगरी काठमाडौंबाट त्रिभुवन राजपथ (बाइरोड) भएर पनि हेटौँडा पुग्न सकिने छ । त्रिभुवन लोकपथको थानकोट–चन्द्रागिरि–चित्लाङ–कुन्छाल–पालुङ–सिमभन्ज्याङ–भैँसे हुँदै हेटौँडा पुग्न सकिन्छ । यसै लोकपथको थानकोट–नौबिसे–पालुङ–सिमभन्ज्याङ–भैँसे हुँदै पनि हेटौँडा पुग्न सकिन्छ ।

यसैगरी काठमाडौं, थानकोट, नौबिसे, मुग्लिङ हुँदै नारायणगढबाट हेटौँडा पुग्ने गरी सवारीसाधन सञ्चालनमा आइसकेको प्रवक्ता कार्कीले बताए । हेटौँडाबाट पूर्व जानका लागि प्रयोग गरिने हेटौँडा–सिन्धुली–चतरा–धरान (मदन भण्डारी राजमार्ग) र पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको छ ।

बाढीपहिरोले अवरुद्ध काठमाडौं–हुमाने–फाखेल–कुलेखानी हुँदै हेटौँडा जोड्ने सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए । फाखेल सडकखण्डमा आएको पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।

बिपी राजमार्गको अर्को विकल्प

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बिपी राजमार्गको विकल्पमा काभ्रेको भकुन्डेबेँसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरी बिपी राजमार्ग निस्कने छोटो दुरीको सडक शनिबारबाट सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार भकुन्डेबेँसीबाट तिमाल, खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरी पार गर्नु पर्छ । रामेछाप र सिन्धुलीको सिमानाको सुनकोशी नदीको पक्की पुल सञ्चालनमा छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि शनिबारदेखि सो मार्ग सञ्चालनमा आए पनि आइतबारदेखि ठुला सवारीसाधनका लागि समेत सञ्चालनमा आउने छ ।

अझै अवरुद्ध छन् यी सडक

त्यसैगरी काठमाडौं–हेटौँडा जोड्ने अन्य राजमार्ग र सडक अझै अवरुद्ध छन् । कान्ति लोकपथको सातदोबाटो–हेटौँडा खण्ड, बल्खु–दक्षिणकाली–सिस्नेरी –कुलेखानी–भीमफेदी–हेटौँडा खण्ड, बल्खु–दक्षिणकाली–फाखेल–कुलेखानी–भीमफेदी–हेटौँडा खण्ड र चन्द्रागिरि–मार्खु–कुलेखानी–भीमफेदी–हेटौँडा अवरुद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर