जापानमा शिगेरु इशिबा नयाँ प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानी प्रतिनिधिसभामा भएको आज भएको मतदानबाट इशिबा निर्वाचित भएका हुन् ।

गएको हप्ता लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षमा निर्वाचित भएका इशिबालाई सत्तारुढ गठबन्धनसहित अरू केही दलले मत दिएको बताइएको छ । उनलाई शाही दरबारमा हुने एक भव्य समारोहमा सम्राट नारुहितोले औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्ने छन् । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै इशिबाले मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । जापानको संसद्को तल्लो र माथिल्लो दुवै सदनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ ।

प्रधानमन्त्री इशिबाले जापानको घट्दो जनसङ्ख्या र कमजोर बन्दै गइरहेको अर्थव्यवस्थासहित धेरै चुनौतीको सामना गर्नुपर्ने खबरमा उल्लेख छ । यस्तै राष्ट्रिय सुरक्षा मोर्चामा चीन, उत्तर कोरिया र रुसबाट बढ्दो खतरा र अर्को महिना अमेरिकामा निर्वाचित हुने नयाँ राष्ट्रपतिसँग सम्झौता गर्ने विषयलाई पनि उनको चुनौतीका रूपमा हेरिएको छ । इशिबाले यसै महिना तल्लो सदन भङ्ग गर्ने र प्रारम्भिक चुनावको आह्वान गर्ने योजना पनि बनाएको छ । प्रधानमन्त्री हुनुअघि नै संसद् भङ्ग गर्ने र चुनाव गर्ने योजना सुनाएको भन्दै विपक्षीले उनको चर्को आलोचना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर