विपी राजमार्ग छिटोभन्दा छिटो खुलाउन अथक् प्रयास गरिने

काठमाडौं । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले अवरुद्ध बनाएको विपी राजमार्गमा अड्किएका सवारीसाधन पास गर्न तथा यातायात सेवा सुचारु गराउन काभ्रेपलाञ्चोकको भकुण्डेबेशी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको काम गरिने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले आज मङ्गलबारदेखि राजमार्गको सबैभन्दा बढी क्षति भएको १ नम्बर पुलदेखि नेपालथोकसम्मको सडक मर्मतको काम सुरु गर्ने छ ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिडिई सुमन योगेशले सोमबार साँझसम्म पहिरोका कारण अवरुद्ध रहेको धुलिखेलदेखि भकुण्डेबेशीसम्मको सडक एकतर्फी सञ्चालन गरेको बताए । उनले भकुण्डेबेशीसम्म एकतर्फी सडक सञ्चालन भएसँगै आजबाट भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मतको काम अघि बढाइने बताए ।
“आजबाट हामी काभ्रेतर्फबाट चार वटा मेसिन प्रयोग गरेर सडक मर्मत गर्दै अघि बढ्नेछौँ भने सिन्धुलीको नेपालथोकतर्फबाट काभ्रेतर्फको सडक मर्मत गर्नका लागि पाँच वटा डोजरलगायतका मेसिन मगाएका छौँ, उताबाट उपकरणहरु आएपछि नेपालथोकतर्फबाट सडक मर्मत गर्दै मङ्गलटार, नार्केतर्फ आउनेछौँ,” सिडिई योगेशले भने । उनले जनकपुरबाट आएका पाँच वटा मेसिनबाट मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरेर बाढी, पहिरोका कारण बाटोमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई नेपालथोक हुँदै सिन्धुलीतर्फ फर्काइने बताए ।

उहाँले हालसम्म पनि भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने एकिन तथ्याङ्क नआएपनि करिब दुई किलोमिटर सडकलाई बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको बताए । “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सडक निर्माण गर्दा प्रति किलोमिटर ३५ करोड नेपाली रुपैयाँ लागत रहेको थियो, जुन अहिलेको हिसाबमा ५० करोड भन्दामाथि पर्छ, ध्वस्त करिब दुई किलोमिटर सडक र अन्य स्थानमा भएको क्षतिको हिसाब गर्ने हो भने अहिलेको बाढीपहिरोले दुई अर्बभन्दा माथिको क्षति गराएको छ,” सिडिई योगेशले हिसाबकिताब गरे ।

“हामी सडक चाँडो सुचारु गर्नका लागि गम्भीर भएर काम गरिरहेका छौँ, सडकलाई पूर्ववर्त रुपमा सञ्चालन गर्न त सकिन्न, खोला घटेर पानी नपरेको खण्डमा सडक क्षति भएको स्थानहरुमा खोलाबाट डाइभर्सन गरेर दशैँअघि नै यातायात सञ्चालन हुनेछ, पानी पर्‍यो भने यसै भन्न सकिन्न,” डिभिजन प्रमुख सिडिई योगेशले भने । बाढी, पहिरोका कारण विपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको सडक खण्डमा करिब १९ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार विपी राजमार्गअन्तर्गतको १ नम्बर पुलमा २५० मिटर, चौकीडाँडा (कटुञ्जे नजिक) एक सय मिटर, दाउन्नेमा एक सय मिटर, चार सयबेशीमा ५० मिटर सडक अवरुद्ध भएको छ । यस्तै, माम्ती खोलामा एक सय मिटर, डालाबेशीमा पाँच सय मिटर, कालढुङ्गामा पाँच सय मिटर र चिउरीबासमा तीन सय मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बाढी, पहिरोका कारण अवरुद्ध रहेको विपी राजमार्गको नेपालथोक–खुर्कोट सडक भने आइतबार साँझबाट एकतर्फी सञ्चालनमा आइसकेको छ । विसं २०५० सालको भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र यातायात सेवा टुटेपछि नेपाल सरकारले विपी राजमार्गलाई मध्य तथा पूर्वी तराईका जिल्ला जोड्ने वैकल्पिक मार्गको रुपमा विकास गर्न जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–०५४ बाट धुलिखेल–सिन्धुली–बर्दिवास सडक (विपी) राजमार्ग निर्माण कार्य सुरु गरेको थियो ।

लगातार २० वर्षको निरन्तर प्रयासपछि विसं २०७२ साल असार १८ गते निर्माण सम्पन्न गरी जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । कुल १६० किलोमिटर दुरीको सडक निर्माणको लागि जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ विलियन जापानी येन खर्च गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर