पूर्व-पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध
काठमाडौं । पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका ४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व-पश्चिम राजमार्ग भासिएको हो । सडक भासिएर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।
बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उनले जानकारी दिए । यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व(पश्चिम राजमार्गअन्तर्गत बुटवल(नारायणगढ सड्कको मर्मत सुरु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए ।
सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरु गरिएको उनले बताए । आज बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले जानकारी दिए ।