सडक भासिएपछि नारायणघाट-बुटबल खण्ड अवरुद्ध

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटबल सडक खण्ड अवरुद्ध भएको छ । नवलपरासीको दाउन्नेमा सडक भासिएको र होङ्सी सिमेन्ट जाने हाइटेन्सन लाइन पनि ढलेका कारण साँझदेखि बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको छ भने सडक किनाराको रिटर्निङ पर्खाल पनि फुटेको छ ।

त्यसैगरी विद्युत हाइटेन्सन लाइनको ठूलो पोल पनि सडकतर्फ ढलेको छ । प्रहरीले सडक चर्किएर साढे १ फिट भासिन पुगेको बताएको छ । अहिले साँझ सवा ५ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको र बाटो खुलाउन, सडक डिभिजन कार्यालय र विद्युत कार्यालयसँग समन्वय भइरहेको प्रहरीको भनाइ छ ।

बाटो धसिएपछि पूर्वबाट पश्चिम जाने गाडीहरु दुम्किवासमा रोकिएका र पश्चिमबाट पूर्व जाने गाडीहरु बर्दघाटमा रोकिएका नवलपुर प्रहरीले जनाएको छ । बाटो अवरुद्ध भएका कारण सयौंको संख्यामा यात्रुहरु अलपत्र परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर