माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कुर्सी हानाहान

काठमाडौं । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ ।

अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर उमेर हदको विकल्पमा मतदानबाट निर्णय गर्न निर्देशन दिएका थिए । क्रान्तिकारीको नेतृत्वको लागि उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा पदाधिकारीबीच निर्वाचन गर्न प्रचण्डको निर्देशन थियो । तर २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद बढ्दै जाँदा सम्मेलनस्थलमा कुर्सी हानाहानकै अवस्था सिर्जना भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । ती प्रतिनिधिका अनुसार, दुई पक्षबीचको झडपका कारण अहिले सम्मेलनस्थलको अवस्था तनावपूर्ण बनेको छ ।

१० असोजदेखि जारी २३ राष्ट्रिय सम्मेलनमा उमेर हदका पक्ष÷विपक्षमा प्रतिनिधि देखिएका थिए । उमेर हद राख्नुपर्ने धारणाहरू प्रतिनिधिहरुबाट आएपछि मतदानबाट टुंगो लगाउने तयारी गरिएको थियो । त्यसको विरुद्धमा महरा पक्षका प्रतिनिधिहरु देखिएका हुन् । ‘अध्यक्षमा दाबी गरेका तुकमानले एउटा समूह ल्याएर सम्मेलन हल तोडफोड गरे,’ प्रतिनिधिले भने, ‘प्रहरी आएपछि  भने सम्मेलन केन्द्र शान्त भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर