त्रिकोणात्मक टी-२० सिरिज : नेपालद्वारा ओमान ३७ रनले पराजित

काठमाडौं ।  नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा ओमानलाई ३७ रनले पराजित गरेको  छ। क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो। १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो। ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए।

रफिउल्लाहले १२ बलमा १ चौका र ४ छक्कासहित ३५ रन बनाए। प्रतिक अथभले १५, खालिद कैलले ११, जिशान मकसुदले ६, आयन खान र अकिब इलियासले २-२ रन बनाए। नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए भने गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए।

कुशल भुर्तेलले २ विकेट लिए, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए। त्यसअघि, किंग सिटीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको अविजित इनिङ खेले।

दीपेन्द्रसिंह ऐरीले ५ बलमा २ छक्का र १ चौकासहित १८ रन बनाए। आसिफ शेखले २२ बलमा १ चौका र २ छक्कासहित २७ रन, अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७ रन बनाए। देव खनाल र कप्तान रोहित पौडेल २-२ रनमा आउट भए। कुशल मल्लले २६ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए भने कुशल भुर्तेलले १७ बलमा १ चौका र १ छक्कासहित २० रन बनाए।

ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। सकिल अहमद, फयाज बट, र जिशान मकसुदले १-१ विकेट लिए। नेपाल त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो। नेपालले मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर