विपदमा परेकालाई राहत तथा उद्धार र उपचार गर्न ९ वटा निर्णय

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज आह्वान गरेको सर्वदलीय बैठकले बाढी र पहिरोजन्य विपदमा परेकाहरुलाई राहत तथा उद्धार र उपचारका लागि विभिन्न ९ वटा निर्णयहरु गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने भएको छ।

वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अवरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका यात्रुलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने निर्णय भएको छ । देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरुमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सुचारु गर्ने निर्णय भएको छ ।

यसैगरी ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत गृहहरुको मर्मत गरी विद्युत आपूर्ती र सूचना तथा संचार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सुचारु गर्ने पनि निर्णय गरेको छ । बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत सम्भार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय पनि बैठकले गरेको छ।

विपदपछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुबै विधि प्रयोग गरी प्रभावित क्षेत्रमा ‍औषधि उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने निर्णय भएको छ।

विपदको चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशैं, तिहार, छठ जस्ता पर्वहरुलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्यासलगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरी पुनर्निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ। यसैगरी, बाढीपहिरोबाट घरवास गुमाएका पीडितहरुका पुनर्स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निधो भएको छ ।

बैठकले अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण जनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । साथै, विपदको यस घडीमा सबै राजनीतिक दलहरु, तीनै तहको सरकार र नीजि क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने तथा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने निर्णय पनि आजको सर्वदलीय बैठकले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर