कांग्रेसद्वारा बेपत्ता भएकाको खोजी तीव्र गर्न ध्यानाकर्षण

काठमाडौं ।  नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र रुपले गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले सबै घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न पनि माग गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिनयता एक सयभन्दा बढीको मृत्यु, कैयौँ बेपत्ता र घाइते भएका घटनाले सबै नेपालीलाई मर्माहत बनाएको उल्लेख गर्दैै कांग्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ । समितिको बैठकले दिवङ्गतको आत्माको शान्तिको कामनासहित परिवारजनमा समवेदना प्रकट गरेको कार्यवाहक मुख्य सचिव डा. पराजुलीले बताए ।
कैयौँ नागरिक अझै पनि देशको विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेको खबर आएका छन् । बैठकमा  सरकारले सम्पूर्ण संयन्त्र केन्द्रित गरेर उद्धार कार्य सम्पन्न गर्न, स्वयंसेवी परिचालन गर्नुपर्ने माग गर्दै कांग्रेसका स्थानीय संरचना, अन्य सबै दल र सङ्घसंस्थालाई उद्धार र राहतमा ऐक्यबद्ध ढङ्गले काम गर्न आह्वान गरिएको कार्यवाहक मुख्य सचिव डा पराजुलीले बताए ।
प्राकृतिक प्रकोपले धेरै ठूला–साना सडक अवरुद्ध भएका छन् । कैयौँ पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । अस्तव्यस्त बन्न पुगेको जनजीवनलाई यसले झनै कष्टकर बनाउन सक्ने देखिन्छ । चाडपर्वमा गाउँ जान चाहने नागरिकको चाप केही दिनपछि थपिन्छ । त्यसैले अवरुद्ध सडकको मर्मतसम्भार तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगतगरी बेलिब्रिज जडान गर्न कांग्रेस कार्यसम्पादन समिति बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर