झ्याप्ले खोला पहिरोबाट ३५ वटा शव निकालियो

काठमाडौं ।  धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोबाट पुरिएको बसबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । आज आइतबार बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ ।
हिजो शनिबार रातिसम्म १४ वटा शव फेला परेकोमा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाको उद्धार कार्य जारी छ । प्रहरीका अनुसार पहिरोमा ना४ख २२७० नम्बरको बस, बा२ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस) फेला परेको छ ।

लु१ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर भ्यान) शनिबार फेला परेको थियो । अझै अन्य सवारी पनि भेटिनसक्ने आशङ्कामा अहिले पनि उद्धार जारी रहेको प्रहरीको भनाइ छ । पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । त्रिभुवन राजपथको नौबिसे-नागढुङ्गा क्षेत्र पहिरो र लेदोले भरिँदा समस्या उत्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर