अनमोल साकोसले कमायो ८३ लाख मुनाफा

भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यविनायकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उद्घाटनपछि सभामा बोल्दै अध्यक्ष बच्चुराम थापाले सरोकारवाला निकायबाट उचित अनुगमन र निर्देशनको कमीले केही सहकारीमा आइपरेको समस्याले गर्दा समग्र सहकारीले आक्षेपको सामना गर्नुपरेको बताए । संस्थाको निहित स्वार्थ र महत्वाकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको उनले बताए ।

नियमित बचत गर्नै बानीको विकास गर्नका लागि आफ्नो सहकारीले विगतका वर्षमा विभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी दिँदै अध्यक्ष थापाले आगामी दिनमा अझै थप नयाँ योजना अगाडि सार्ने जानकारी दिए ।

सभामा बोल्दै वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले इजरायलबाट नेपालले सहकारी शिक्षा सिकेको तर छोटो समयमै इजरायलले सहकारी क्षेत्रमा ठूलो फड्को मारेको बताए । उनले भने, “इजरायलमा समुदायमा रहेर सहकारी चलेको थियो भने नेपालमा समुदायमा भन्दा पनि सञ्चालकमुखी भएर सहकारी चलाएकै कारण सहकारीको बदनाम भएको हो ।” उनले सहकारीका बचतकर्ता र शेयर सदस्यहरुले आफूले बचत गरेको सहकारीले कुन क्षेत्रमा कसरी लगानी गरिरहेको छ भनी चासो लिनुपर्नेमा जोड दिए ।

नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विदुरमानसिंह बस्नेतले समुदायमा आधारित भएर सञ्चालनमा आएको सहकारीमा कुनै समस्या नभएको स्पष्ट पारे । सहकारी क्षेत्रमा आएको संकटपूर्ण समयमा पनि सदस्यहरूको विश्वास र निरन्तरको साथले अनमोल संस्था सबल बन्दै गएको उनले जनाए ।

सभामा साकुरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्रकुमार मिश्र, रफत सञ्चार क्लवका अध्यक्ष सुशीलबन्धु थापा, श्रीकृष्ण प्रणामी सेवा समिति कटुञ्जेका संरक्षक तुलसीप्रसाद कोइरालालगायतले सहकारीमा देखिएको समस्या, आर्थिक मन्दीलगायतका विविध समस्याका बाबजुद पनि अनमोल सहकारीले गरेको उपलब्धि अत्यन्तै सम्मानजनक रहेको बताए ।

संस्थाका सचिव राजु श्रेष्ठले संस्थाले सहकारी सिद्धान्त, ऐन, नियम, विनियम र आचार संहिताको पूर्ण पालना गर्दै आफ्नो सदस्यहरुका छरिएर रहेको पूँजीलाई संकलन गर्दै आफ्ना सदस्यहरुका बीच उत्पादनमूलक, सीपमूलक, आयमूलक, व्यवसायमूलक र रोजगारमूलक क्षेत्रहरुमा लगानी गरी आर्थिक तथा सामाजिक रूपले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको बताए ।

उनले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधि तथा चालु आर्थिक वर्ष २०८१–०८२ को योजनाको जानकारी गराए ।

कोषाध्यक्ष बेल्सी दाहाल थापाले संस्थाले आफ्नो वित्तीय कारोबारलाई मात्र सीमित नराखी संस्थाले समाजमा खेल्नुपर्ने सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सोसम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोबारेमा जानकारी दिइन् । उनले संस्थाले आर्थिक वर्ष २०८०–०८१ मा २ करोड ७ लाख ८६ हजार ५ सय १६ रुपैयाँ खुद आम्दानी गरी एक करोड २४ लाख ८६ हजार ५ सय ९२ रुपैयाँ खर्च गरी ८२ लाख ९९ हजार ९ सय २४ खुद नाफा आर्जन गरेको जानकारी दिइन् ।

लेखा तथा सुपरीवेक्षण समितिका संयोजक मोहन गिरीले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी वृद्धि गर्ने उद्देश्यले संस्थाका सदस्यहरुलाई नियमानुसार शेयर खरिद गर्न र थप सुविधा सहितको नयाँ कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

उनले संस्थामा काम गर्ने कर्मचारीहरुको मनोबल र आत्मबल बढाउन समय, काल, परिस्थितिअनुरूप आवश्यक नयाँ ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने नीति अवलम्बन गर्नुपर्ने तथा संस्थाको आर्थिक एवं प्रशासनिक व्यवस्था समयानुकूल सुदृढ गर्नका लागि विद्यमान नीति नियम र कार्यविधिहरु परिमार्जन गर्दै लैजानुपर्ने सुझाव दिए । साथै उनले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका प्रवन्ध निर्देशक राजु थापाले आफ्नो दीर्घकालीन विकासको लागि स्पष्ट रणनीतिक योजना बनाई लागू गर्दै जाने हो भने संस्थाले लिएको उद्देश्य सहजै पूरा गर्न सकिने बताए । उनले आर्थिक वर्ष २०८१–०८२ का लागि संस्थाले लिएको लक्ष्य तथा कार्य योजना प्रस्तुत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर