काठमाडौंमा २२ वर्षपछिको सबैभन्दा अधिक वर्षा

काठमाडौं । संघीय राजधानी काठमाडौंमा हालसम्मकै भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी (२३९.७ मिलिमिटर) वर्षा मापन भएको छ । यसअघि विसं २०५९ साउनमा १७७ मिलिमिटर वर्षा मापन भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकको खोपासी र पनौतीमा २८१.८ मिलिमिटर वर्षा मापन भएको झाले जानकारी दिए । यसैगरी बागमती प्रदेशपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशको पाल्पाको अर्चलेमा २४४.२ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी गण्डकी प्रदेशको तनहुँ विमलनगरमा २१०.२, कोशी प्रदेशको धनकुटामा २०९, मधेश प्रदेशको बारा कोल्बीमा २०२, कर्णालीको सुर्खेतमा ४९.५ र कैलालीमा ४२ मिलिमिटर वर्षा मापन भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार बाढीपहिरोबाट काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा पाँच जना गरी जम्मा ३२ जनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौंमा १० जना, ललितपुरमा पाँच जना र भक्तपुरमा दुई जना गरी १७ जना घाइते छन् । बाढीमा परी काठमाडौंमा एक जना र ललितपुरमा ११ जना बेपत्ता छन् । बाढीमा फसेकाको उद्धारका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

निरन्तरको वर्षाका कारण प्राकृतिक विपत्बाट प्रभावित काठमाडौं उपत्यकासहित देशभर सरकारले खोज तथा उद्धारलाई तदारुकता दिँदै नेपाली सेनाको हेलिकोप्टरसहित ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर