अविरल वर्षाबाट देशभर ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण विपत्तिमा परी काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । काठमाडौं मा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

यसैबीच धादिङको नौबिसे-नागढुङ्गा सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ । सडकमाथिबाट खसेको पहिरोले आज बिहान बस पुरिएको हो । बस पुरिए पनि यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी एन्फा एकेडेमीका ६ छात्र सम्पर्कविहीन

वर्षाका कारण आएको पहिरोले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं–३ स्थित एन्फा एकेडेमीका ६ छात्र सम्पर्कविहीन छन् । वत्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनरत ६ जना छात्र वेपत्ता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र ठकुरीले जानकारी दिए । कुलेखानी जलाशयका कारण आएको बाढी विद्यालय डुबानमा पर्ने डरले सुरक्षित स्थानमा सार्दै गर्दा टेकर भन्ने स्थानमा आएको पहिरोमा ती छात्रहरू पुरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले जानकारी दिए।

बेपत्ता हुनेमा अनुप घलान, प्रियाँक आचार्य, विकल रेग्मी आदित्य बलमंपाखी, विवस बाँनिया र साइमन योन्जन रहेका छन् । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी घटनास्थल तर्फ जाँदै गरेको इन्द्र सरोवर गाउँपालिकाका अध्यक्ष श्रीकृष्ण पुडासैनीले जानकारी दिए ।छात्रावासमा अन्डर १३ समूहका ४० जनालाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले गत जेठ महिनादेखि बन्द प्रशिक्षणमा राखेको थियो । ३४ जनालाई सुरक्षित स्थानमा सारिएको विद्यालयका शिक्षक सुदर्शन घिमिरेले जानकारी दिए ।

खुर्कोटको पक्की पुल सुनकोशीले बगायो

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल सुनकोशीले बगाएको छ । अविरल वर्षाले सुनकोशीमा आएको बाढीले गोलन्जोर गाउँपालिका ७ खुर्कोटबाट रामेछापको सेलेघाट जोड्ने पक्की पुल बगाएको हो । पक्की पुलसँगै रामेछापतर्फको सडकको  केही भाग बगाएको छ ।

कुलेखानीमा पानीको सतह घट्यो

मकवानपुरको इनद्रसरोवर स्थित कुलेखानी जलविद्युत् आयोजनाको पानीको सतह केही कम भएको छ । बिहानबाट जलाशयको २ वटा ढोका खुला गरेर पानी निकासा गरिएपछि जलसतहमा केही कमी आएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । दिउँसो १ बजे कुलेखानी जलाशयको सतह एक हजार ५ सय २८ दशमलव ०४ सेन्टिमिटर रहेको उनले बताए । साढे ४ मिटर सम्म खोलिएको ड्यामको ढोका अहिले २ मिटर मात्रै खोलिएको छ ।

पानीको सतह कम हुँदै गएपछि ढोका कम कम मात्रामा खोलिएको उनले बताए । जलाशय भरिएर १ हजार ५ सय ३१ मिटर पुगेर ओभरफ्लो हुन थालेपछि ड्यामको दुवै ढोका खोलिएको थियो । जलाशयको भण्डारण क्षमता समुन्द्री सतहदेखि एक हजार पाँच सय ३० मिटर रहेको छ । कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर