पहिरोबाट हालसम्म ९ जनाको मृत्यु, ९ जना बेपत्ता, देशका प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ । काभ्रेमा दुई जनाको मृत्यु र नौ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका ७ चापाखोरीमा घर भत्केर एक महिलाको निधन भएको हो भने बनेपा १० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईको बनेपा अस्पताल ल्याउन नसकेर सूर्यविनायक लगिएकोमा मृत घोषित भएका हुन् । त्यस्तै बनेपा नगरपालिका–१४ थलाचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

यसैगरी पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा फिदिम १२ घर भइ हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा छन्। दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो। घर नजिकै माथिदेखि आएको पहिरोले पुरिँदा आमा छोरीको ज्यान गएको हो।

यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो । घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिए। स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । सुनकोसी नदीले खतराको तह पार गरेको छ ।

यसैगरी ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका ४ घोप्टेभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै आज बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो। बिहान ४ बजेतिर पहिरो खसेको प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवले जनाकारी दिए। उनका अनुसार पहिरो पन्छाउने काम शुरु गरिएको छ । दुईवटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले बताए। यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध छ। यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ। अविरल वर्षाका कारण सडक भासिएको हो।

कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढेको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन्। आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जल सतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जल सतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए। नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ। पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ। नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ। तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन्।

कुलेखानी जलाशयको ढोका खोलियो

अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरिएको छ । जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका आंशिक रूपमा खोलिएको छ । पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रूपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत् गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशययमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ ।

हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, स्थानीय त्रसित

भक्तपुरको हनुमन्ते खोलाले ग्यास बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास लिक भएको स्थानीयले देखेका थिए । ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।

पहिरोले भीमफेदी–कुलेखानी–फाखेल सडक बन्द

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त खण्ड बन्द भएको हो । स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर