पहिरोबाट चम्किलो ढुंगा खस्न थालेपछि अनुसन्धान गर्न माग

काठमाडौं । बैतडी जिल्लाको पुर्चौडी नगरपालिकास्थित लामुनीमा पहिरोबाट सिसा जस्तो दृखिने चम्किलो ढुंगा खस्न थालेका छन् ।

पुर्चौडी नगरपालिका–८, लामुनीको कमेरपानीमा विगत २०५२ सालदेखि अहिलेसम्म निरन्तर पहिरो खसिरहेको छ । पहिरोले ४० परिवारको घरखेत बगाइसकेको छ । त्यसयता निरन्तर पहिरो खस्दा ९५ परिवार जोखिममा छन् । पहिराले दुई वटा पहाड नै तहसनहस बनाएको छ । गत वर्षसम्म पनि पहिरो खस्दा बारुदको जस्तो गन्ध आउँथ्यो । अहिले भने सिसाजस्ता चम्किलो ढुंगा खस्न थालेको स्थानीय वासिन्दाले जनाएका छन् । पहिरो खस्दा दुर्गन्ध आउने, पानीमा फिँजजस्तो तरल पदार्थ देखिने र अहिले चम्किलो ढुंगा फेला परेकोमा नास्टका वैज्ञानिक डा. भोजराज पन्तले खानी तथा भूगर्भ विभागको टोलीलाई स्थानीय तहले खोज अनुसन्धानका लागि माग गर्नुपर्ने बताए ।

पहिरोले स्थानीय डणपुर, लामुनी, चिमडा, टुणेत, सल्ला, गरखा, पेल्तडी, धन्नासी, न्वाकोटलगायत गाउँ जोखिममा छन् । खानेपानीको मुहान पहिरोले लगेपछि गाउँमा पानीको समस्या छ । दुई वटा नहर बगाउँदा खेत बाँझै छ । पहिरोका कारण स्थानीय केदार मन्दिरसमेत जोखिममा परेको छ । भूगर्भ विभागले यसअघि पुर्चौडी नगरपालिका क्षेत्रमा फलाम खानी र कृषि मलमा प्रयोग हुने फस्फोराइडजस्ता खानी पत्ता लगाइसकेको छ । भूगर्भविद्ले पहिरोको अनुसन्धान गर्ने हो भने कमरेपानीको पहिरोमा बहुमूल्य धातु वा पत्थर फेला पर्न सक्ने स्थानीयको भनाइ छ । कमेरपानीको पहिरोबाट बर्खामा लेदो बग्ने गरेको छ भने हिउँदमा सफा पानी देखिए पनि त्यसमा फिँज आउने गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर