घरजग्गा कारोबार उकालो लाग्दै, राजश्व मात्रै ७ अर्ब

काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा घर जग्गा कारोबारबाट झण्डै सात अर्ब रुपैयाँ राजश्व प्राप्त गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त तथ्यांक अनुसार साउन र भदौमा गरेर घरजग्गा कारोबारबाट छ अर्ब ९२ करोड ५३ लाख ४२ हजार रुपैयाँ राजश्व उठेको देखिएको हो ।

घरजग्गासम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको विभागको भनाइ छ । सरकारको आम्दानीमा यस्तो राजश्वको हिस्सा उच्च नै हुने गर्छ । तथ्यांकअनुसार साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ यस्तो राजश्व उठेको थियो । भदौमा भने तीन अर्ब नौ करोड दुई लाख ५९ हजार रुपैयाँ राजश्व उठेको देखिन्छ ।

गत आवको पहिलो दुई महिनामा पाँच अर्ब ९५ करोड ६३ लाख ७४ हजार रुपैयाँ यस्तो राजश्व उठेको थियो । त्योअनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारबाट उठ्ने राजश्व १६.२६ प्रतिशतले बढेको देखिन्छ । गत आवको साउनमा दुई अर्ब ९१ करोड चार लाख २७ हजार रुपैयाँ र भदौमा तीन अर्ब चार करोड ५९ लाख ४६ हजार रुपैयाँ यस्तो राजश्व उठेको थियो ।  गत आवमा घरजग्गा कारोबारबाट ४२ अर्ब एक करोड ३२ लाख रुपैयाँ राजश्व उठेको थियो ।

साउन र भदौंमा गरेर देशभर ७६ हजार ६३३ वटा घरजग्गाका कारोबार भएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ३.५५ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा देशभर ७४ हजार ९४९ वटा घरजग्गाको कारोबार भएको थियो । तथ्यांकअनुसार गत आवभरमा भने पाँच लाख ३७ हजार २९५ वटा घरजग्गाको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर