१२ गतेदेखि टिकट बुकिङ, १८ लाख मानिस काठमाडौंबाट बाहिरिने अनुमान

काठमाडौं ।  यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले दसैँका लागि  टिकट बुकिङ १२ गते शनिबारदेखि खुला गर्ने सहमति भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात विभागसँग भएको छलफलअनुसार दसैँका लागि टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको जानकारी दिए ।

त्यस्तै, टिकट बुकिङ गर्दा सकेसम्म अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने बैठकको निर्णय गरेको छ । सार्वजनिक सवारीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने, अनधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री कार्यलाई नियन्त्रण गर्नेलगायतका निर्णय बैठकले गरेको छ । यसैगरी बैठकले घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला निर्णय पनि गरेको छ ।

१८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

यस वर्षको चाडपर्वमा १५–१८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा ५ लाखले बढी हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए ।

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए । प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सवारीसाधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारीसाधन पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर