जोशीलाई नियन्त्रणमा लिएपछि रवि लामिछाने पक्राउ पर्ने सम्भावना बढ्दै

काठमाडौं । सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको आरोपमा जोशीलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

जोशीमाथि अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । कास्की जिल्ला प्रहरीको पत्रका आधारमा समातिएका जोशीलाई अनुसन्धानका लागि पोखरा पठाइने तयारी भएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा गोर्खा मिडिया नेटर्वकका तत्कालीन अध्यक्ष गितेन्द्रबहादुर (जिबी) राई, प्रबन्ध निर्देशक पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने र सञ्चालक जोशीलगायतलाई कारबाहीको लागि सिफारिस गरेको थियो।

जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेता तथा कार्यकर्ताहरु अनौपचारिक छलफलमा जुटेका छन् । रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिए ।  कार्कीले भने, “अनौपचारिक छलफलमा छौं । यी विषयमा सामान्य छलफल भएको छ तर हामीलाई आधिकारिक इन्फरमेसन कतैबाट पनि आएको छैन ।”

उनले सभापति लामिछानेका सन्दर्भको जिज्ञासामा आधिकारिक जानकारीको पर्खाइमा रहेको बताए । उनले भने, “पार्टीका सभापति, पूर्वगृहमन्त्री भाग्ने कुनै सम्भावना छैन । यस्तो अवस्थामा एउटा जनप्रतिनिधिलाई समातिहाल्छ भन्ने केही छैन । केही जानकारी दिन्छ होला भन्ने छ । त्यो जानकारी अहिलेसम्म आइसकेको छैन ।” पार्टी कार्यालयमा अहिले सादा पोशाक र वर्दीका प्रहरीको बाक्लो उपस्थिति रहेको छ । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति पनि बढेको छ ।

लामिछाने कानुनी परामर्शमा

लामिछानेलाई पक्राउको तयारीपछि पार्टी कार्यालयमा कानुनी परामर्श जारी रहेको बताइएको छ। रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारले नयाँ अभिव्यक्ति र नयाँ शक्तिलाई दबाउन खोजेको भन्दै सभापतिमाथि ज्यादती गर्न खोजेको बताएका हुन्।

‘सरकारले ज्यादति गरिरहेको छ। तपाईँहरू सबैलाई धन्यवाद यति छोटो सूचनामा यतिका साथीहरू यहाँ आउनु भयो,’ पार्टी कार्यालय बनस्थलीमा जम्मा भएका कार्यकर्तालाई धन्यवाद दिँदै उनले भने, ‘हामी अहिले कानुनी परामर्शमै छौँ। सरकारलाई यसबारे निर्णय सच्याउन आग्रह गर्दछौँ।’

रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले पनि यसखाले गतिविधि रोकेर अघि बढ्न सरकारलाई आग्रह गरे। आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने जनाएको हो।

बैठकपछि पार्टी उपसभापति डीपी अर्यालले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाए। ‘हामी सकेसम्म सुसंस्कृत राजनीतिबाट प्रतिवाद गर्छौं,’ उनले भने। प्रहरीले भने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै लाछिानेलाई पक्राउको तयारी गरेको छ।

चीन भ्रमणमा गएका नेताहरुलाई फिर्ता बोलाइयो

यसैबीच रास्वपाका नेता विराजभक्त श्रेष्ठले चीन भ्रमणमा गएका नेताहरुलाई फिर्ता बोलाइएको जानकारी दिएका छन् । उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा गएका थिए ।  चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीहरू शनिवार मध्यराति त्यता प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्य एवम् उपसभापति वाग्ले प्रतिनिधिसभा सदस्यहरू मनिष झा, असिम साह, शिशिर खनाल, डा.तोसिमा कार्की, गणेश पराजुली तथा पार्टीका नेताहरूमा बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, लिमा अधिकारी, तपेश्वर यादव, खुश्बु सरकार श्रेष्ठ रहेका छन् ।

रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा चीन भ्रमणमा गएका रास्वपाका उपसभापतिसहितका नेताहरु आकस्मिक रुपमा भोलि सोमबार नै नेपाल फर्किन लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर