डीजी अधिकारीलाई बर्खास्त गर्न पोखरामा धर्ना
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै पोखरामा आज विरोध प्रदर्शन गरिएको छ। एकता अभियान नेपालको आह्वानमा पोखराको सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टासम्म धर्ना दिनुका साथै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो।
धर्नाका सहभागीहरूले महानिर्देशक अधिकारीले पोखरा विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको र पोखरा विमानस्थल सञ्चालनको डेढ वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा उनै अधिकारी मुख्य दोषी रहेको ठहर गर्दै बर्खास्तीको माग गरेका थिए।
एकता अभियान नेपालका केन्द्रीय अध्यक्ष विनय यादवले आफूहरूले यसबारे विगतमा पनि विभिन्न प्रकारका आन्दोलनमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारको ध्यानाकर्षण गराएको जनाए। उनले महानिर्देशक अधिकारी विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै उनको बर्खास्ती नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए।