तीन महिनापछि सूर्यविनायकबासीले मेलम्चीको पानी पिउन पाउने

भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अब तीन महिनापछि सूर्यविनायकबासीले मेलम्चीको पानी पिउन पाउने भएको बताएका छन् ।

कटुञ्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको २३ औं साधारण सभामा बोल्दै प्रमुख थापाले तीन महिनाभित्र वडा नं. १ देखि ६ सम्मका जनताले मेलम्चीको पानी पिउन पाउने भएको बताएका हुन् ।अबको तीन महिनाभित्र सबै भौतिक काम सकिने जानकारी दिँदै उनले भने, ‘अहिले सम्म करिब ८० प्रतिशतको काम सकिसकेको छ । बाँकी २० प्रतिशतको काम अबको तीन महिनाभित्र सकिन्छ । त्‍यसपछि मेलम्चीको पानी सूर्यविनायकमा आइपुग्छ ।’

प्रमुख थापाले केयुकेएलसँग समन्वय गरी मेलम्चीको पानी नगरपालिकाका जनताका लागि खुवाउन नगरपालिकाले ६०/४० को अवधारणाअनुरूप दैनिक २० लाख लिटर खानेपानी आपूर्तिका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

खानेपानीमा राजनीति गर्न नहुने भन्दै उनले भने, ‘खानेपानी वितरण गर्दा त्यो कांग्रेस, त्यो एमाले, त्यो माओवादी, राप्रपा, नेमकिपा भन्दै आफ्नालाई मात्र दिँदै जाँदा द्वन्द्व मात्र निम्तिन्छ, त्यसैले सबै पार्टीका आम सर्वसाधारणलाई समान रुपमा पानी वितरण गर्नुपर्छ । खानेपानी संस्थालाई आम सर्वसाधारणलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन हुँदैन् ।’ उनले सूर्यविनायक नगर अस्पतालले एक महिना भित्रै अपरेशन थिएटर सञ्चालन गर्ने बताए ।

नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले सूर्यविनायक नगरपालिकामा बढ्दो शहरीकरणको रूपमा विकास भएकाले यहाँका जनतालाई खानेपानी खुवाउने कर्तव्य नगरपालिकाको रहेको बताइन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरका १० वडाका नगरबासीहरुलाई खानेपानी खुवाउन सूर्यविनायक जंगलमा १० लाख लिटरको ट्यांकी निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए । यसका लागि संघीय र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिरहेको उनले बताए ।

वडा नं. ६ का वडाध्यक्ष एवं कटुञ्जे सुवर्णेश्वर खानेपानीको पूर्व सचिव ईश्वर खड्काले साधारणसभामा ताली बजाउन मात्रै उपस्थिति नभएर संस्थाले गरेका काम कारवाही तथा आर्थिक पाटोमा भएको कमीकमजोरीलाई पनि औल्याउनु पर्नेमा जोड दिए ।

वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले खानेपानीको विकास र विस्तारको लागि आफूले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । समितिका अध्यक्ष पूर्ण विसुंके र सचिव भरत संग्रौलालगायतले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर