भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा लैजाने निर्णय

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

मन्त्रिपरिषदको बिहिबार बसेको बैठकमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो । यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैँ सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी गठन आदेशविना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट बञ्चित हुँदै आएका छन् ।

ती सबैको समस्या समाधान गर्न अस्पताललाई विकास समितिमा परिवर्तन गर्ने मन्त्री पौडेलले केही अघि जनाएका थिए । सरकारको उक्त निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरू विकास समितिअन्तर्गत रहने भएका छन् । यसले लामो समयदेखि रोकिएको वृत्ति विकासका कारण परेको समस्या हल हुने भएको छ ।

मन्त्रिपरिषद बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्ति विकासमा काम गर्ने बाटो खुलेको छ । कर्मचारीको समस्या समाधान भएपछि आवश्यक स्वास्थ्य जनशक्ति पठाउनसमेत मन्त्रालयलाई सहज हुने वातावरण बनेको छ ।

मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षमा ड.। अजित रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर