पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् नवीन भट्ट

काठमाडौं । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् नवीन भट्ट । उमेरले उनी ५० वर्ष नाघिसकेका छन् । हेर्दा लाग्छ, उनी बच्चाहरूलाई सिकाउने शिक्षक हुन् । तर उनी शिक्षक नभई आफूभन्दा निकै साना उमेरका विद्यार्थीसँगै बसेर नौ कक्षामा पढ्छन् । गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माविमा ५१ वर्षीय भट्ट कक्षा ९ मा भर्ना भएर पढिरहेका छन् । यसै शैक्षिक सत्रमा भर्ना भएका भट्टको पढाईप्रति देखाएको लगावबाट शिक्षकसमेत दङ्ग छन् ।

भीमसेन थापा गाउँपालिका–२ तान्द्राङका भट्ट दुइ बर्षपछि एसईई दिएर अबको १२ वर्षमा एमबिबिएस पढ्ने लक्ष्यका साथ विद्यालयमा भर्ना भएका हुन् । कक्षा ११ र १२ साइन्स पढेर त्यसपछि एमविविएस पढ्ने उनको लक्ष्य छ । घरयासी समस्याले पढाईलाई निरन्तरता दिन नपाएको उनले बताए । २०५३ सालमा एसएलसी फेल भएपछि पढाई छोडेका भट्ट २९ वर्षपछि फेरि विद्यालयमा पढ्न आएका हुन् । सुरुका दिनमा छोराछोरी उमेरका सहपाठीसँग पढ्न धक लागेपनि अहिले सहज भएको उनले बताए ।

विद्यालय समयको अलावा पनि नवीनले पढाईमा लगाव बढाएको छ । उनले नजानेका कुरा शिक्षकसँग सोध्न गाह्रो मान्दैनन् । भर्ना भएको सुरुका दिनमा लेखाई ढिलो भएपनि अहिले लय समातेको उनले बताए । भट्टको पढाई राम्रो रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्याल बताउँछन् । भट्टलाई बस्नका लागि विद्यालयले होस्टेलको एउटा कोठा उपलब्ध गराएको छ । (समाचार, तस्बिरः आत्माराम श्रेष्ठ, गोरखा, नेपाल टिभी अनलाइन)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर