नेपाल ओमानसँग एक विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल फेरि ओमनसँग हारेको छ । गएराति सम्पन्न खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । ओमानका लागि अन्तिमसम्म खेलेका सकिल अहमद १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे । ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । कश्याप प्रजापतिले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिए ।

नेपालका लागि गुलसन झा एक्लैले पाँच विकेट लिए । त्यस्तै करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेले ।

एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए । सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० तथा सन्दीप लामिछाने १५ बलमा ११ रन जोडे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले अब आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ । नेदरल्यान्ड्स ८ खेलमा ६ मा जीत र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । क्यानडा ९ खेलमा ५ मा जितसहित १० अंकका साथ दोस्रो स्थानमा छ । यूएई ४ खेलमा अंकविहीन हुँदै पुछारमा छ । नेपाल ६ खेलमा १ मा जितसहित २ अंकका सात सातौं स्थानमा छ । ८ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर