नेपाल एअरलाइन्सले चाडपर्वमा भरपर्दो उडान सेवा दिने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले नजिकिएको बडा दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर आफ्ना विमानको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्य योजना पेसगरी तदारुकताकासाथ काम गर्न हिजो मंगलबार विभागीय प्रमुखलाई निर्देशन दिएको थियो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका नायब महाप्रबन्धक (प्राविधिक), इञ्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एअरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका प्रमुखलाई विमान नियमित उडानको कार्ययोजना ल्याउन निर्देशन दिएको हो ।

यसैगरी अत्यावश्यक र अत्यन्त जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहतका कर्मचारीलाई नपठाउन निर्देशन दिइएको छ । उक्त अवधिमा निगमका सबै विभागका इञ्चार्ज र प्रवन्धकदेखि माथिका जिम्मेवार कर्मचारीलाई कार्यालयको काममा वाध पर्नेगरी बिदा नलिन निर्देशन दिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर