प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस

काठमाडौं ।  संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस गरेको छ । हिजो सोमबार बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको हो । राउत सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हुन् ।

न्यायपरिषद्ले यसअघि प्रधानन्यायाधीश बन्नका लागि योग्यता पुगेका ८ जनाको नाम पठाएको थियो । अब संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राउतलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने काम परिषद्ले गर्छ ।

आगामी असोज २० गते प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ उमेर हदका कारण अवकाश जाँदैछन् । प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महीना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि दुई पटक परिषद्को बैठक बसेपनि निष्कर्षविहीन बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर