कञ्चनपुरका बस्तीहरु डुबानमा, ७० परिवारभन्दा बढी विस्थापित

काठमाडौं । अविरल वर्षासँगै महाकालीमा नदीमा आएको बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका बस्तीहरु डुबानमा परेका छन् । भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवारभन्दा बढी बाढीबाट विस्थापित भएका छन् । विस्थापितहरु बन्दोबस्तीका सामान र गाईबस्तुसहित १२ नम्बर वडा कार्यालय र महाकाली नदी किनारको सडक छेउमा बस्न बाध्य छन् ।

उता जोगबुढा नदीले डुबान गर्दा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पटर खल्ला वडा नं. १० कुतियाकवर लगायतका क्षेत्रहरुमा १३० भन्दा बढी घर परिवार विस्थापित भएका छन् । पुनर्वास नगरपालिकाको रातो ताल, दशरथ बस्तीलगायतका क्षेत्रहरु डुबान हुँदा ५५ परिवार विस्थापित भएका छन् । बाढीले लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामान र घरमा राखिएका आवश्यक अन्य सरसमान समेत भिजेर नष्ट भएका छन् । उद्धारको काम जारी रहेको र बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए।

बाढीले खाद्यान्न बन्दोबस्तीका सामानदेखि कतिपय घरमा क्षति पुर्‍याएको भन्दै सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्ने विस्थापितहरुको माग छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनालगायतका विभिन्न निकायहरुबाट उद्धारको काम भइरहेको छ । सबै सुरक्षा निकाय परिचालन गरिएको प्रजिअ सापकोटाको भनाइ छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको उद्धार भइरहेको र विस्थापितहरुको आश्रय स्थलदेखि खानपानको व्यवस्थासमेत नगरपालिकाले गरिरहेको बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर