प्रधानमन्त्रीजीले भन्नुभयो, बजारको हल्लाबारे कुरा नगरौं : उपसभामुख रानामगर

काठमाडौं । संवैधानिक परिषदको आज शुक्रबार बसेको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नाम सिफारिसका सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि नाम भने सिफारिस गरिएको छैन। बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि कुनै निर्णय नभएको संवैधानिक परिषद सदस्य एवम् उपसभामुख इन्दिरा रानामगरले बैठकपछि जानकारी दिइन् ।

“बैठकमा आज प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भयो । बरिष्ठत् न्यायाधीशको बारेमा छलफल भएको छ । थप छलफल गरेर परिपक्व निर्णय लिने निष्कर्षमा पुगेका छौं । यही भदौ ३१ गते पुनः बैठक बस्नेछ । आज कुनै निर्णय भएको छैन”, उपसभामुख रानामगरले भनिन् । प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले यसअघि नै ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरिसकेको छ ।

यसैबीच उपसभामुख रानामगरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैठकमा आफूलाई हटाउन खोजिएको विषयमा कुराकानी गरेको बताइन् ।
“मैले मेरो अन्तर्राष्ट्रिय छवि छ। कयौं बालबालिका हुर्काएको छु। न त त्यो चिठी दूतावासमा गएको छ, न त उनीहरू नै अमेरिका गएका छन्। वास्तवमा चिठी दर्ता नै भएको छैन”, उनले भनिन्, “त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ। प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो। बजारको हल्लाबारे कुरा नगरौं भन्नुभयो। बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ।’ यस्तै, आफूले गल्ती नगरेको हुँदा राजीनामाबारे कुनै सोच नभएको उनले सञ्चारकर्मीहरूलाई बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर