कर्णाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि

काठमाडौं ।  कर्णाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि आएको छ । अहिलेसम्म पानीको बहाव १०.४० मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिए । चिसापानीस्थित जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १० मिटरसम्म सतर्कता तह मानिन्छ । १०.८० मिटर पुगेमा खतरा मानिन्छ ।

पानीको बहाव बढेपछि कैलाली र बर्दिया जिल्लाका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजग गराइएको छ । उनीहरूलाई सतर्क रहन आग्रह गरिएको छ । कर्णाली नदीमा मिल्ने सेतीमा मात्रै पानी बढेकाले अब बिस्तारै पानीको बहाव घट्ने अपेक्षा गरेको गुरुङले बताए । उनका अनुसार माथिल्लो क्षेत्रमा कर्णाली र भेरी नदीमा पानीको बहाव बढेको छैन । तीन वटै नदी मिलेर तल सिङ्गो कर्णाली बग्ने गर्दछ ।

यसैगरी, कैलालीमा बग्ने मोहनासहित यसका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रा, कटैनी, घुरहा, खुटियामा पनि पानीको बहाव बढ्दो क्रममा रहेको छ । हिजोदेखि भइरहेको अविरल वर्षाका कारण सबै नदीनालामा पानीको बहाव बढेकाे छ । कतिपय ठाउँमा मान्छेको घरमा पानी पसिसकेको जनाइएको छ ।

कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा

बाढीको जोखिममा परेका कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीमा बाढी आएपछि जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जानकी गाउँपालिका–४ स्थित १५ परिवारका ३४ जनालाई उच्च सुरक्षित घरमा सारिएको छ ।

यसैगरी, जानकी गाउँपालिका–७ स्थित १७ परिवारका ९४ जनालाई पनि उच्च सुरक्षित घरमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । त्यस्तै, जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई जनहित सामुदायिक वनको भवनमा सारिएको छ ।

पछिल्लो ६ घण्टामा कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । वर्षाका कारण नदीनालामा पानीको बहाव बढ्दो क्रममा रहेको छ ।  यसैगरी, मोहना, खुटिया, कान्द्रा, घुरहा, कटैनी, पथरैया नदीमा जलसतह बढिरहेको र खतरा आसपास पुग्ने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

राप्ती राजमार्ग र दाङ–सुर्खेत सडक अवरुद्ध

वर्षाले राप्ती राजमार्ग र दाङ–सुर्खेत सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाले राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले सडक माथिबाट ठुलो पहिरो गएको र जेसिबीको सहायताले पहिरो हटाउने कार्य भइरहेको जानकारी दिए ।

यस्तै, दाङ–सुर्खेत सडक खण्डअन्तर्गत सल्यानको कालिमाटी गाउँपालिका ४ टटेलीमा पहिरोले नै सडक अवरुद्ध भएको छ । उक्त सडक तत्काल सञ्चालन हुने सम्भावना नरहेको प्रहरीको भनाइ छ । निरन्तरको वर्षाले खहरे खोला आउँदा पहिरो गएको स्थानसम्म जेसिबी लिन नै समस्या परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर