लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा भारी वर्षा, नदीमा जल सतह उच्च

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । दुई प्रदेशसहित कर्णालीका केही जिल्लामा समेत भारी वर्षा भएको हो । गएराति दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ, दार्चुला, र आसपासका जिल्लामा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण कैलालीस्थित कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी बर्दियास्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । यहाँ पनि जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कञ्चनपुरस्थित दोदा (मछेली) नदी जलमापन केन्द्रमा पनि हालको जलसतहले सतर्कता तह पार गरेको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। आज राति सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर