प्रधानमन्त्री ओली एक्सनमा : मन्त्रीहरूलाई हाजिर हुन उर्दी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक्सनमा उत्रिएका छन् । उनले आफ्ना सबै मन्त्रीहरूलाई दिउँसो २ बजे सिहंहदरबारमा हाजिर हुन भनेका छन् । मन्त्रीहरूको कार्य सम्पादन क्षमतामाथि प्रशासनिक र जनस्तरबाट प्रश्न उठिरहँदा प्रधानमन्त्री ओलीलले आफ्ना मन्त्रीहरूलाई सिंहदरबारमा उपस्थित हुन आह्वान गरेका हुन् । गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको आज ५७ दिन पुगिसकेको छ। प्रधानमन्त्रीले मन्त्रीहरुसँग मन्त्रालयगत कामको विवरण माग्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए।
मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिदको बैठक पनि बोलाएका छन्। चाडपर्व नजिकिँदा जनताका कामहरू छिटोछरिटो सक्याउनुपर्नेमा त्यसो नभएको प्रधानमन्त्रीको गुनासो रहेको छ । जनतामा व्याप्त निराशालाई चिर्न के–कस्तो काम सम्पन्न गर्नुपर्ने हो त्यसको ठोस योजनामाथि पनि छलफल हुने बताइएको छ ।